काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्च अधिकारी रहनेछन्।
परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्। भारतस्थित नेपाली दूतावासका केही प्रतिनिधि पनि टोलीमा थपिनेछन्। निजी क्षेत्रका ५२ जना प्रतिनिधि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् भने पत्रकारहरू पनि निजी खर्चमा भ्रमणमा जान सक्ने उनले जानकारी दिए।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाहको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्नेछन्।
त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योग व्यवसायीको ‘बिजनेस डेलिगेसन’ नयाँ दिल्ली जाने जानकारी दिएका हुन्।
परराष्ट्र मन्त्रालयबाट प्राप्त ५२ जनाको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, महासंघकै पूर्वअध्यक्ष भवानी राणा, महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्जवल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल दिल्ली जाने टोलीमा छन्।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह बिजनेस डेलिगेसन टोलीमा सामेल छन्।
नेपाल चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा दिल्ली जानेको सूचीमा छन्।
त्यसैगरी, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम नारायण पराजुली, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी डेलिगेसन टोलीमा छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगी, निर्वतमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल उद्योगी व्यवसायीको टोलीबाट दिल्ली जानेको सूचीमा छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि दिल्ली जाने सूचीमा छन्।
यस्तै, नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज (नास–आइटी)का उपाध्यक्ष विभूषण विष्ट, गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डे, नेपाल औषधि उत्पादक संघबाट अर्जुनकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष शोभा गुरुङ दिल्ली जाँदै छन्।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल कफी व्यवसायी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ, सचिव दिकिला शेर्पा लामा र नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ पनि सहभागी हुँदै छन्।
यस्तै, उद्योगी व्यवसायीहरू बीवाईडी गाडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल, भाटभटेनी ग्रुपका कल्याण गुरुङसहित नितेश मालपानी, टुकप्रसाद पौडेल, जीवानाथ लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, विष्णुकुमार अग्रवाल, दीलिप अग्रवाल, सन्जय शाक्य, दिपक थापा, राजनकुमार बन भारत जाँदै छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली जाने उद्योगी व्यवसायीले आफैँ आर्थिक दायित्व वहन गर्नुपर्नेछ।
मंसिर ६ गते आयोजना हुने नेपाल-भारत बिजनेस फोरमलाई ध्यानमा राखेर दिल्ली जाने उडान तालिका र होटल व्यवस्थापन आफैँले गर्न मन्त्रालयले उद्योगी व्यवसायीलाई आग्रह गरेको छ।
दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नोभेम्बर २३ अर्थात् मंसिर ७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।




















