काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई आन्तरिक कमजोरीको परिणामका रूपमा मात्रै बुझ्न नहुने बताएका छन्। उनले निर्वाचनअघि नै सरकारबाट अपदस्थ गरिएदेखि एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण सुरु भएको दाबी गरेका छन्।
पार्टीको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिन सम्बोधन गर्दै ओलीले निर्वाचनपूर्व भएका ध्वंस र आक्रमणका कारण एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको बताए।
‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति बुझिँदैन। राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्दछ,’ उनले भने।
ओलीले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ प्रयोग गरेर र सुरक्षा निकायलाई समेत संलग्न गराएर एमालेलाई निर्वाचनमा पराजित गरिएको आरोप लगाए।
‘अल्गोरिदम प्रयोग गरेर र सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो। हामीप्रति घृणा फैलाएर तथा अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर निर्वाचनमा एमालेलाई पराजित गराइयो,’ उनले भने।
निर्वाचनको प्राविधिक पक्षलाई मात्रै आधार बनाएर पार्टीको आन्तरिक कमजोरीका कारण सरकार विस्थापित भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो।
यसक्रममा ओलीले मौसमी छिचिमिराको उदाहरण दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन। यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ भने कतिपय आफैं भुइँमा झर्छन्,’ उनले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’
ओलीले समाजलाई भ्रममुक्त बनाउने अभियानको नेतृत्व पनि एमालेले गर्ने बताए। समाजमा बढ्दै गएको निराशा अन्त्य गरी पुनर्जागरण ल्याउने जिम्मेवारी आफ्नो पार्टीले लिने उनको भनाइ थियो।




















