काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन्।
काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले उक्त घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए।
‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो। यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन। लोकतान्त्रिक प्रणालीभित्र मान्न सकिने घटनाक्रम होइन। यो बिल्कुल अस्वीकार्य घटना हो,’ उनले भने।
ओलीले एमालेले उक्त घटनालाई तत्कालीन अवस्थामा पनि स्वीकार नगरेको र भविष्यमा समेत स्वीकार नगर्ने स्पष्ट पारे।
‘त्यसलाई स्वीकार्न सकिँदैन। आज पनि सकिँदैन। हिजो तत्काल पनि त्यसलाई स्वीकारेका थिएनौँ र भविष्यमा पनि स्वीकारिने छैन,’ उनले भने।
अध्यक्ष ओलीले दुई प्रमुख प्रतिस्पर्धी दलबीचको सहकार्य सामान्य राजनीतिक परिस्थितिमा हुने घटना नभए पनि मुलुकको आवश्यकता र तत्कालीन परिस्थितिलाई बुझेर कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको स्मरण गरे।
देशमा स्थिरता र स्थायित्व कायम गर्न तथा मुलुकलाई अस्थिरतातर्फ जानबाट रोक्न दुई ठूला दलबीच सहकार्य भएको उनको भनाइ थियो।
‘हाम्रो देशमा स्थिरता र स्थायित्व कायम गर्न, देश अस्थिरता र अस्थायित्वतर्फ जाने सम्भावनालाई रोक्न दुईवटा प्रमुख पार्टी मिलेर सरकार बनाएका थियौँ। सामान्य अवस्थामा त्यस्तो सरकार बन्दैन,’ ओलीले भने।
दुई प्रमुख प्रतिस्पर्धी दलबीचको सहकार्य तत्कालीन समयको माग र आवश्यकता भएको उल्लेख गर्दै उनले त्यसमा दुवै पार्टीले इतिहास, योगदान, सामर्थ्य र भविष्यप्रतिको जिम्मेवारीलाई आत्मसात् गरेको बताए।
कांग्रेस–एमालेको सहकार्यले मुलुकमा स्थिरता कायम हुने र निर्वाचनसम्म सरकार ढाल्न नसकिने अवस्था बन्ने देखेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएको ओलीको दाबी छ।
‘नेपालमा स्थिरता हुने भयो, स्थायित्व हुने भयो, अब निर्वाचनसम्म सरकार ढाल्न नसकिने भयो भन्ने भएपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिए,’ उनले भने।
दुई पार्टी मिलेर निर्वाचनमा गए लोकतान्त्रिक प्रणाली र संविधानलाई कमजोर पार्न नसकिने अवस्था बन्ने देखेपछि संकीर्ण स्वार्थ पूरा गर्न भूराजनीतिक प्रभाव बढेको उनको आरोप थियो।




















