म पदको मोहले राजनीतिमा फर्किएकी होइन
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले चुनावी हारबाट निराश नभई नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताएकी हुन्।
बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई अस्थायी धक्काको संज्ञा दिइन्।
‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन। तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन्।
भण्डारीले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ गतेको निर्वाचन परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने बताइन्।
‘अहिले हामीले भोगेको धक्का अस्थायी हो। त्यसैले निराश भएर निष्क्रिय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिँदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भनिन्।
विगतमा पनि एमालेले कठिन चुनौती सामना गरेर आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाएको स्मरण गर्दै उनले अहिलेको चुनौती पनि त्यसैगरी सामना गर्न सकिने विश्वास व्यक्त गरिन्।
सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोर्दा पनि एमालेले पलायनको बाटो नरोजेको उल्लेख गर्दै उनले निर्वाचनको परिणाम सच्याउन सकिने बताइन्।
मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइ उद्धृत गर्दै उनले निकट भविष्यमा हुने स्थानीय तहलगायत निर्वाचनको तयारीमा जुट्न आग्रह गरिन्।
चुनावी तयारीका क्रममा जनताको विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।
‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पुँजी हो। त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट अवश्य आर्जन गर्न सकिन्छ,’ उनले भनिन्।
पदको मोहले राजनीतिमा फर्किएको होइन : भण्डारी
यसैबीच, भण्डारीले कुनै पद प्राप्त गर्ने मोहले आफू सक्रिय राजनीतिमा नफर्किएको स्पष्ट पारेकी छन्।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब आफू कुनै पदप्रति आकांक्षी नरहेको बताइन्।
‘साँच्चै भन्ने हो भने अब म कुनै पनि पदप्रति निष्पृहजस्तै भएको छु। किनकि मैले राष्ट्रपतिजस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनिन्।
सक्रिय राजनीतिमा फर्किनुको उद्देश्य मातृपार्टी एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउनु रहेको उनको भनाइ थियो।
सात वर्षे राष्ट्रपति कार्यकालमा आफूले संवैधानिक दायरा र मर्यादाभित्र रहेर देश तथा जनताको हितमा काम गरेको दाबीसमेत उनले गरिन्।
‘म राष्ट्रपतिको भूमिकामा रहँदा संवैधानिक दायरा र मर्यादाभित्र रहेर देश र जनताको हितमा आफूले सम्पादन गरेका असल कार्यहरू सबैका सामु छर्लङ्ग छन्,’ भण्डारीले भनिन्।




















