काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन सामान्य नहुने बताएका छन्। उनले निर्वाचनलाई फासीवादी तथा पपुलिस्ट शक्ति र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको भीषण संघर्षका रूपमा व्याख्या गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एमालेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए।
‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो। आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ,’ उनले भने।
गत निर्वाचनको परिणाम दोहोरिने वा त्यसमा क्रमभंग हुने भन्ने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न रहेको उनको भनाइ थियो। आगामी निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।
चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौं लडाइँ जित्न सक्छौ’ भन्ने रणनीति आत्मसात् गर्नुपर्ने बताए।
गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न, प्रमुख प्रतिद्वन्द्वी चिन्न र त्यसविरुद्ध सहकार्य गर्न नसकेको उनले स्वीकार गरे।
‘हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। आफ्ना कमजोरी बुझ्न सकेनौँ। मुख्य प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ,’ उनले भने।
थापाले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे। पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत गरेको उनको भनाइ थियो।
आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुने रणनीति अपनाउनुपर्ने उनले बताए।
आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने थापाको भनाइ थियो। त्यसका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनको पार्टीले गरेको समीक्षाका आधारमा उपयुक्त चुनावी रणनीति तय गर्नुपर्ने उनले बताए।
राष्ट्रिय भेलालाई पार्टीको नयाँ एकता र संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै थापाले केन्द्रीय कमिटीले तय गरेका ‘दुई कार्यभार र १५ काम’ पूरा गर्न भेला आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको थियो।
त्यस्तै, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध विस्तार र सुदृढीकरण गर्ने निर्णयसमेत भएको उनले बताए।
केन्द्रीय कमिटीले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेर निष्कर्ष निकालेको उल्लेख गर्दै थापाले ती निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।




















