काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्न लागेको जनाएको छ।
प्राधिकरणका अनुसार मंसिर ३ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म विद्युत् कटौती हुनेछ।
त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा तथा मंसिर ६ गते पुनः बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा तथा मंसिर ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
यसैगरी, मंसिर १० गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि डुङ्गे अड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा, मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म तथा मंसिर १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सबै दिन बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ।





















