हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजारनजिक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।
बिहान करिब साढे ८ बजे भएको दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। अस्पतालले दुई महिला र एक पुरुष गरी तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए। मृतकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका सात जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसअघि गत कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। काठमाडौंबाट सर्लाही जाँदै गरेको उक्त माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको थियो।




















