काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार छनोटमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले अब कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र जिताउने जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन्।
पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझाव संकलनमा आधारित वैज्ञानिक प्रणाली अपनाउनुपर्ने बताए।
‘उम्मेदवारका सन्दर्भमा एउटाले टिकट पाउने, आकांक्षीहरू असन्तुष्ट रहने, यो आम प्रवृत्ति बनिसक्यो। त्यसपछि दोष नेतृत्वलाई लगाउने। म कमरेडका बीचमा अनुरोध गर्न चाहन्छु, उम्मेदवारहरू पनि तपाईंहरू आफैँ छान्नुस्, जिताएर देखाउनुस्। यसपटकको निर्वाचनका सन्दर्भमा यो संकल्प गरौँ। कार्यकर्ताले उम्मेदवार छान्ने, कार्यकर्ताले जिताएर देखाउने,’ उनले भने।
उनले निर्वाचन परिचालनका लागि केन्द्रदेखि पालिका तहसम्मका पार्टी कमिटीलाई सक्रिय बनाउनुपर्ने बताए। पालिका तहमा संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमिति गठन गर्नुपर्ने तथा पार्टीका कमिटी र सदस्य परिचालनको अनुगमन गर्न संयन्त्र बनाउनुपर्ने उनको प्रस्ताव छ।
निर्वाचन प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गर्दै उनले डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।
जनतासँग संवाद टुट्दा जनाधार कमजोर भयो
महासचिव पोखरेलले पार्टीले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियान सञ्चालन गरे पनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको स्वीकार गरे। अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुँदा जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकिएको उनको भनाइ छ।
जनतासँगको संवाद टुटेकै कारण निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै उनले पार्टी गतिविधिलाई जनतासँग प्रत्यक्ष जोड्नुपर्ने बताए।
‘हामीले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान, ग्रासरुट अभियान चलायौँ। तर जनतासँग संवाद गर्ने काम तीनवटै अभियानमा कमै भयो। अबसम्म हामी जनतासँग संवाद गर्ने काम गर्न सक्दैनौँ, जनाधार फिर्ता गर्न सकिँदैन,’ उनले भने।
पोखरेलले पार्टीका अभियान र गतिविधि औपचारिकतामा सीमित हुन थालेको भन्दै त्यसलाई सुधार नगरे आगामी निर्वाचनमा पनि अपेक्षित नतिजा हासिल गर्न नसकिने चेतावनी दिए।
उनले विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणाम विश्लेषण गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने बताए। साथै विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावको वैज्ञानिक मूल्याङ्कन गरेर आगामी निर्वाचनको रणनीति बनाउनुपर्नेमा जोड दिए।




















