काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले तातोपानी नाका खुलाउन जोड दिएका हुन्।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीन जोड्ने अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ। यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ,’ मन्त्री खनालले भने।
जवाफमा अध्यक्ष याङले नाका खुलाउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी गराएका थिए।
भेटवार्तामा नेपाल–चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध, शिक्षा लगायतका विविध विषयमा समेत छलफल भएको थियो।




















