काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन्। काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले फेरि सरकारमा जाने बताएका हुन्।
ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै कसैको कृपा वा आशीर्वादबाट सत्ता प्राप्त नगरेको जिकिर गरे।
‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ उनले भने, ‘अरु कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन।’
उनले एमाले पुनः सरकारमा पुग्ने दाबी गर्दै विपक्षीलाई आफ्नो भनाइ स्पष्टसँग सुन्न चुनौती दिए।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले। विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ ओलीले भने।
ओलीले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यबाट पार्टी पछि नहट्ने पनि बताए। उनले उक्त सपना अझ स्पष्ट रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।




















