काठमाडौं । नेकपा एमालेले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी तथा पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार भेलामा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीको कार्यभारबारे छुट्टै कार्यपत्र प्रस्तुत गर्नेछिन्।
बैठकले मंसिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिनअघि सार्दै मंसिर ४ गते बस्ने निर्णयसमेत गरेको छ।
बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ।




















