काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आएको छ। ग्राहकलाई रातिको समयमा समेत किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा २४ घण्टा खुला गरिएको कम्पनीले जनाएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राखेर टंगाल शाखामा चौबिसै घण्टे सेवा सुरु गरिएको हो। यसअघि भक्तपुरको राधेराधे शाखाबाट कम्पनीले यस्तो सेवा सुरु गरेको थियो।
व्यवसायी मीनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनीका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन्। कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ भने यसका स्टोरहरूमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड हुँदा कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको थियो। ठूलो क्षति भए पनि कुनै कर्मचारीको रोजगारी नखोसी पुनः लगानीमार्फत अधिकांश स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको टंगाल शाखा पनि मर्मत तथा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। अहिले सोही शाखामा चौबिसै घण्टा सेवा सुरु भएपछि ग्राहकले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन्।




















