काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो दल बन्ने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेको आन्तरिक सर्वेक्षणले पार्टी पहिलो स्थानमा आउने देखाएको बताए । उनले आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र रास्वपा चौथो स्थानमा रहने बताए ।
बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनीसमेत दिए । सरकारलाई सच्याएर सही बाटोमा हिँडाउन आफूहरूले प्रयास गर्ने बताउँदै उनले त्यसो नभए जनताले सरकारको विकल्प खोज्न सक्ने धारणा राखे ।
यसैबीच, बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आन्तरिक अन्तर्विरोध चर्किंदै गएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली, ‘जेनजी आन्दोलन’ र आन्तरिक राजनीतिक समीकरणबारे टिप्पणी गरे ।
प्रधानमन्त्री शाह र लामिछानेबीचको दूरी बढ्दै जाँदा आगामी दिनमा अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित हुन सक्ने उनको भनाइ छ । लामिछानेले जनकपुर पुगेर छठ पूजा गर्नु र अमरेश सिंहको मेची–काली जागरण यात्रामा सहभागी हुनुलाई बस्नेतले तराई–मधेशमा ‘बालेन होइन, अब रवि हो’ भन्ने सन्देश दिन खोजिएको राजनीतिक स्टन्टको संज्ञा दिए । प्रधानमन्त्री शाह भने अहिले तराई–मधेश जान डराइरहेको उनको आरोप छ ।
त्यस्तै, लामिछानेले सांसद पदबाट राजीनामा दिएर वडामा उम्मेदवारी दिने अभिव्यक्ति दिनुले वडा तहसम्म रास्वपाको संगठन र कार्यकर्ता नरहेको पुष्टि गरेको बस्नेतले जिकिर गरे ।
नेता बस्नेतले ‘जेनजी आन्दोलन’ तत्कालीन सत्ता परिवर्तनका लागि नभई अवस्था परिवर्तनका लागि भएको दाबी गरे । बाह्य हस्तक्षेपका कारण आन्दोलन हिंसात्मक बनेको उनको आरोप छ । टीओबी र बारबरालगायतका फाउन्डेसनको हस्तक्षेपका कारण सिंहदरबार, सर्वोच्च अदालत, नेताहरूका घर तथा व्यापारिक प्रतिष्ठानमा आगजनी हुनुका साथै प्रहरीमाथि आक्रमण भएको उनले बताए ।
बस्नेतले आन्दोलनलाई कब्जा गरेर वर्तमान नेतृत्व सत्तामा पुगेको आरोपसमेत लगाए ।




















