काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी मंसिर ६ गते आइतबार नयाँदिल्ली जाने भएका हुन् ।
प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबार औपचारिक वार्ता र भेट सुरु गर्नेछन् । उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत विशिष्ट अधिकारीहरू भेटवार्ता छन् । सोही दिन नेपाल-भारतबीच द्विपक्षीय वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भारतले नेपाललाई भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुन:र्स्थापनामा सहयोग र विशेष गरी क्रिकेटमा सहयोग गर्ने तयारी रहेको छ । प्रधानमन्त्री बालेन र मोदीको द्विपक्षीय भेटवार्तामा नेपाल-भारतको सीमा सुरक्षा,सीमा विवादका बारेमा छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा नेपाल-भारतबीचको कनेन्टिभिटी, उर्जा, व्यापार, पारवहन, खेलकुद र पूर्वाधार विकास लगायतको विषयमा छलफल हुनेछ। त्यसबाहेक हवाई रुटका विषय समेत छलफलको एजेन्डा बनेको छ। प्रधानमन्त्री बालेनले युवा लक्षित कार्यक्रममा सहयोग गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल्वे मन्त्रालयले जनकपुरधाम र अयोध्या सीधा रेल सञ्चालन गर्न स्वीकृति दिइएको छ । भारत भ्रमणको अवसरमा प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीले मंसिर ७ गते अयोध्या–जनकपुर रेल सञ्चालनको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ ।
बालेन प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए। तर आन्तरिक समस्याका कारण बालेनले समय दिन सकेका थिएनन्। भर्खरै भएको भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणले प्रधानमन्त्री बालेनको भारत भ्रमणको ढोका खोलेको हो । भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेनलाई भेटेपछि उनको भारत भ्रमणको मिति तय भएको हो ।




















