काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान प्रक्रिया रहस्यमय र अपारदर्शी रहेको आरोप लगाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राज्यका विभिन्न निकायलाई कार्यकारीको मातहतमा ल्याउने प्रयास भइरहेको आरोप लगाए। उनले पछिल्लो समय इनम सापकोटाको नाममा सार्वजनिक भएका घटनाक्रमले सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए।
पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई झापाबाट उम्मेदवार बनाउनु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा गरिएको सर्वेक्षणदेखि निर्वाचन अभियानसम्म इनम सापकोटाको संलग्नताबारे चर्चा सार्वजनिक भएको छ।
त्यस्तै, प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउन गठन गरिएको कोर टिममा समेत सापकोटाको भूमिका रहेको विवरण बाहिर आएको उनले बताए।
प्रधानमन्त्रीका नाममा विभिन्न क्षेत्रका व्यक्तिलाई त्रसित पार्ने प्रयास भएको विषयसमेत सार्वजनिक भएको पोखरेलको भनाइ छ। प्रहरी नियन्त्रणमा लिइएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई–तीन दिनसम्म राखेको विवरण बाहिर आएको उल्लेख गर्दै उनले यसले राज्य सञ्चालनको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरे।
उनले भने, ‘अहिले इनम सापकोटाका नाममा जे पटाक्षेप भएको छ, त्यसका रहस्यहरू आउन बाँकी नै छन्। अनुसन्धानको प्रक्रिया रहस्यमय देखिँदै छ, पारदर्शी छैन।’
सरकारले इनम सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धानको प्रक्रिया र त्यससँग जोडिएका घटनाक्रमबारे पर्याप्त पारदर्शिता नदेखिएको पोखरेलको आरोप छ।




















