कञ्चनपुर । बझाङको बुंगलमा भएको अटो रिक्सा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सोमबार बिहान बुंगल नगरपालिका–१० टुमेडाबाट बुंगल–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको थियो।
चालकसहित ६ जना सवार अटो दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको थियो भने दुई जना सम्पर्कविहीन भएका थिए। खोजी गर्ने क्रममा थप एक बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार बुंगल नगरपालिका–१० निवासी चार वर्षीया रियास महराको शव फेला परेको हो।
यसअघि सोही ठाउँकी ४० वर्षीया राजमती महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको मृत्यु भएको थियो।
अटोमा सवार १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको र घरतर्फ गएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो चालक बुंगल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




















