कैलाली । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
आइतबार बिहान करिब १०ः२० बजे बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटनामा परेको हो। टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार बुङ्गल नगरपालिका–१० निवासी ३५ देखि ४० वर्षीया राजमती महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनापछि एक बालक बेपत्ता छन् भने घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी सहायक निरीक्षक वीरबहादुर ठगुन्नाका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी छ।




















