काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना राजदूतलाई शपथ गराएका हुन्।
शपथ लिनेमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्ण रहेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेका थिए।
सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरे पनि संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो।
समितिबाट अनुमोदन भएपछि सरकारले सम्बन्धित मुलुकमा राजदूतका लागि अग्रिमो (सहमतिपत्र) पठाएको थियो। अग्रिमो प्राप्त भएका तीन देशका राजदूतले सोमबार शपथ लिएका हुन्।




















