काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।
सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गर्दै सिंहलाई बिदाइ गरेका हुन्।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरमा रहेका लामिछानेले सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै यात्राको सफलताको शुभकामना दिए।
उनले पदयात्रामार्फत देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश फैलिने विश्वास व्यक्त गरे। चुनावका बेला मधेस र पहाडलाई जोड्न सफल भएको रास्वपाले अब मेची–महाकाली पदयात्रामार्फत सिंगो देशलाई जोड्ने उनको दाबी थियो।
सांसद सिंहले जनकपुरबाट सांकेतिक रूपमा पदयात्रा सुरु गरे पनि मंगलबार बिहान झापाबाट विधिवत् यात्रा थाल्ने बताएका छन्।





















