काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आयोजना गर्ने सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।
मंसिर १५ गतेदेखि सुरु हुने दुईदिने प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिम जाने कार्यक्रम तय भएको प्रदेश सभापति वीरबहादुर बलायरले जानकारी दिएका छन्।
बलायरका अनुसार कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुने अधिवेशनको उद्घाटन समारोह मंसिर १५ गते बिहान ११ बजे सुरु हुनेछ।
यसअघि बलायरले विज्ञप्ति जारी गर्दै प्रदेश अधिवेशनको मिति र स्थान सार्वजनिक गरेका थिए। विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ नियमित महाधिवेशन तयारी समिति गठन गरेको देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ।




















