काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको हो।
एमालेले मंसिर २ र ३ गते काठमाडौँको कार्की ब्यांक्वेटमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा करिब तीन हजार एक सय जना सहभागी हुनेछन्। महासचिव शंकर पोखरेलका अनुसार राष्ट्रिय भेला मुख्यतः स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित हुनेछ।
त्यसैगरी, मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरिएको छ। एकदिने भेलामा एमालेका तर्फबाट २०७८ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यका अनुसार उक्त भेला बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठक गत असोज ५ देखि ८ गतेसम्म बसेको थियो। उक्त बैठकले पार्टीभित्रको आन्तरिक विवाद तत्काल थाती राख्दै राष्ट्रिय भेलामार्फत निकास खोज्ने निर्णय गरेको थियो।




















