काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन पत्नी अञ्जना केसीसहित आइतबार मधेस प्रदेश पुगेका छन्।
काठमाडौँबाट आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका थापाले त्यहाँको छठघाटमा पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेका छन्।
सर्लाहीको कार्यक्रम सकेर उनी आइतबार राति वीरगन्ज पुग्ने कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज–१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि वीरगन्जका अन्य छठघाटको भ्रमण गरी व्रतालु तथा श्रद्धालुसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन्।
कांग्रेस वीरगन्ज महानगर कार्यसमितिका सचिव भाजु राउत कुर्मीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार थापा सोमबार बिहान ४ः३० बजे घडिअर्वा छठघाट पुग्नेछन्। त्यसपछि बिहान ५ बजे नगवा प्रहरी चौकीनजिकको छठघाट र ५ः४५ बजे छपकैयाँ छठघाट पुग्ने कार्यक्रम छ।
छठघाटको भ्रमणपछि उनले स्थानीय चिया पसलमा चिया पिउँदै सर्वसाधारणसँग अनौपचारिक संवाद गर्नेछन्। बिहान ९ देखि १० बजेसम्म पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा आगन्तुकसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ।
त्यसैगरी, बिहान १०ः३० देखि ११ बजेसम्म वीरगन्ज–१४ स्थित पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा थापा सहभागी हुनेछन्।
बिहान ११ः३० देखि ११ः४५ बजेसम्म वीरगन्ज–३० स्थित बेलवामा निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको स्थलगत अवलोकन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको छ। त्यसपछि उनी सोमबार साँझ काठमाडौँ फर्किनेछन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन शनिबारदेखि जनकपुरमा छन्। उनी पनि सोमबार काठमाडौँ फर्किने कार्यक्रम छ।




















