काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन्।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन्।
चीनबाट प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा नेपालले महत्त्वपूर्ण लाभ लिन सक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेको बुर्लाकोटीले बताए।
चीनबाट प्राप्त गर्न सकिने आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनको भनाइ छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले तयार पारेको भ्रमण कार्यतालिकामा पनि यस्ता विषय समेटिएको बुर्लाकोटीले जानकारी दिए। भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी नेपालको विकास र समृद्धिमा योगदान पुर्याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए।
बुर्लाकोटीले भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने स्पष्ट पारे। यस विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने उनको भनाइ छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको संसदीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्दैछ। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा अध्ययन तथा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।




















