काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान सवा ११ बजेदेखि छलफल सुरु भएको हो। चीन भ्रमणमा जानुअघि सांसदहरूले प्रधानमन्त्रीसँग भेट गरी छलफल गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका २० जना नेता तथा सांसद आगामी आइतबार (२९ कात्तिक) चीन प्रस्थान गर्ने कार्यक्रम छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको भ्रमण ११ दिनको हुनेछ।
भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ। टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्नेछ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्य पक्षसँग हुने भेटघाट र छलफलले दुई देशका राजनीतिक दलबीचको सम्बन्ध र आपसी सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




















