मलंगवा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। ६ जना घाइते भएका छन्।
मृतक यात्रुहरु सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका रहेका छन् भने हाइस चालक सर्लाहीकै कविलासी नगरपालिका–८ का छन्।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा प्रमोद यादवका २६ वर्षीय छोरा गुडु यादव, २४ वर्षीय बुहारी गायत्री देवी यादव, राम सुनर यादवका २५ वर्षीय छोरा विकेश यादव, १६ वर्षीय छोरा सुधेश यादव, जेठा छोरा अबेधश यादवकी श्रीमती पुनम यादव, नातिनीहरु १० वर्षीय अनु यादव, ७ वर्षीय शिक्षा यादव, ६ वर्षीय दिपिका यादव रहेका छन्। त्यसैगरी निरसु रायका ४० वर्षीय छोरा राकेश राय, १४ वर्षीय नाती रोहन राय, चन्देश्वर रायका २५ वर्षीय छोरा सुबोध राय रहेका छन्। निरस रायका २५ वर्षीय छोरा राम दुलार राय, अमिरी रायको २५ वर्षीय छोरा राम प्रबेश राय रहेका छन्। त्यसैगरी सवारी चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डल रहेको चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बताएका छन् ।
घाइते हुनेहरुमा मुकेश राय, देवेन्द्र राय, बेचु भनेर चिनिने देवेन्द्र राय, मृतक गुडु यादवका ५ वर्षीय छोरा सक्षम राय र ३ वर्षीय छोरा सुजन राय र अबधेश यादवको १६ महिने छोरा सुदिप यादव रहेका छन् । राम सुनरको परिवारमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकै परिवारको ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकी पुनम यादव ८ महिनाकी गर्भवती थिइन्।
अध्यक्ष यादवका अनुसार १४ जनाको शव अस्पतालमा ल्याइसकेको र ६ जनाको उपचार भइरहेको जनाएका छन्। छठ मनाउनका लागि काठमाडौंबाट मधेश प्रदेश ०३–००१ ज् ०८८० नम्बरको हाइस रिर्जभ गरेर सर्लाही आउँदै गर्दा भीमभेदीको चिसापानी दुर्घटना भएको थियो। छठ रौनक बढिरहेको समयमा अहिले सुन्दरपुर गाउँ पुरै शोकमा डुबेको छ।




















