विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा आगलागी हुँदा पाँच वटा संरचना जलेर नष्ट भएका छन्। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः४५ बजे स्थानीय दिलबहादुर कार्कीको घरबाट सुरु भएको आगलागीले उनको काठले बनेको दुई तले घर, दुई वटा गाईगोठ, भान्छाघर र भण्डारघर जलेर नष्ट भएका छन्।
दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा मध्यरातमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगो निभाउन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो।
आगलागीका क्रममा गाईगोठबाट गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।
प्रहरीले पटका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।




















