काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी कारागारमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत बिहीबार बिहान रिहा भएका हुन्।
६५ वर्ष उमेर पूरा भएपछि कानुनबमोजिम पाउने कैद छुट सुविधाका आधारमा उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।
विहान ७ वजे नै कारागारबाट निस्किएका रायमाझीलाई सातदोबाटोस्थित घरमा फुलमालाले स्वागत गरिएको छ । उनी केही दिन आराम गरेपछि आफ्नो स्थायी घर अर्घाखाँची जाने बताइएको छ ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई रिहा गरिएको जानकारी दिए। तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको उनले बताए।
रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो।
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए।
काठमाडौं जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। यस्तै, एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
सांसद रहेकै बेला पक्राउ परेका रायमाझी कारागारबाट रिहा भएपछि आगामी राजनीतिक तथा सार्वजनिक भूमिकाबारे पनि चासो बढेको छ।




















