काठमाडौं । पोल्यान्डको पुरानो राजधानी क्राकोभ सहरको मुख्य चोकमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ३ बजे ग्हुभ्ने रेनेक नामक पर्यटकीय क्षेत्रमा एक बन्दुकधारीले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
पर्यटकीय क्षेत्र भएकाले घटनामा विभिन्न देशका नागरिकसमेत प्रभावित भएको बताइएको छ।
प्रहरीका अनुसार गोली प्रहारमा संलग्न व्यक्ति पोल्यान्डका नागरिक हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा सन्दिग्ध व्यक्तिको घर खानतलासी गर्दा थप तीन जनाको शव फेला परेको जनाइएको छ।
घटनामा दुई जना प्रहरीसमेत गोली लागेर घाइते भएका छन्। उनीहरूको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ।
यसैबीच, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले घटनाका क्रममा साहस देखाउने प्रहरी अधिकारीहरूको प्रशंसा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सिनियर कन्स्टेबल याकुब कुलिक र सिनियर कन्स्टेबल आर्तुर मोरान्स्कीले आफ्नो ज्यानको जोखिम मोलेर धेरै सर्वसाधारणको ज्यान बचाएको उल्लेख गरेका छन्।
दुवै प्रहरी अधिकारीको अवस्था गम्भीर रहे पनि उनीहरूले उत्कृष्ट उपचार पाइरहेको बताउँदै प्रधानमन्त्री टुस्कले उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै सम्पूर्ण पोल्यान्ड उनीहरूको साथमा रहेको उल्लेख गरेका छन्।




















