काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिले घरमै पुगेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार महिला घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान चन्द्रबहादुर पुन मगरको घरमै पुगेर हतियार प्रहार गरेका हुन्।
घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन घाइते भएका छन्। घाइतेमध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो। गम्भीर घाइते बीमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ। अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि रावतलाई नियन्त्रणमा लिइएको छ। उनले परिवारका सदस्यहरूमाथि किन हतियार प्रहार गरे भन्ने कारण खुलेको छैन।
प्रहरी निरीक्षक हरिजनले घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै घटनाको कारण खुल्ने जानकारी दिएका छन्।




















