काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल मात्रै हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमाडौं गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जारी प्रतियोगितामा लुम्बिनी उत्कृष्ट लयमा देखिएको छ । सात अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले हालसम्म खेलेका चारमध्ये तीन खेलमा जित निकालेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । लुम्बिनी हालसम्म अपराजित रहेको छ ।
यता, काठमाडौं गोर्खाज चार अंकसहित अंकतालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको काठमाडौंले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय बेहोरेको छ ।
आजको खेलमा अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी र जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा रहेको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।



















