काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार राष्ट्रपति भवनमा भेटवार्ता भएको छ।
भेटमा सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे जानकारी गराएका थिए।
त्यस्तै, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि राष्ट्रपति पौडेललाई अवगत गराएका थिए।
भेटमा संसद् अधिवेशन आह्वान, संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा सातै प्रदेशका सभामुख र उपसभामुखसँग सामूहिक छलफल गर्ने विषयमा पनि कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताउँदै संसदीय विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने धारणा राखेका थिए।
भेटमा समसामयिक राजनीतिक विषय र सरकारका कामकारबाहीबारे समेत छलफल भएको जनाइएको छ।




















