काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा समर्थकले गलत काम गरे छुट नपाउने बताएका छन्।
निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले रास्वपा विधि र पद्धतिमा विश्वास गर्ने पार्टी भएको स्पष्ट पारे।
‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ,’ उनले भने।
लामिछानेले पार्टीको नेतृत्व विकास वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिँदै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व तयार गर्न कार्यकर्तालाई आग्रह गरे।
उनले पार्टीको संगठन विस्तार, नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडमा जोड दिँदै स्थानीय विकास निर्माणका कामलाई अघि बढाउन पार्टीको संस्थागत संरचना सक्रिय हुनुपर्ने बताए।
ठूलो पार्टी, सांसद र संगठनको व्यवस्थापन तथा सरकारसँग समन्वय गर्नुपर्ने भएकाले लामो समयदेखि निर्वाचन क्षेत्रमा आउन नसकेको उनको भनाइ थियो।
नागरिकले हरेक कामका लागि सांसद नै खोज्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहबाटै सक्षम नेतृत्व विकास गर्नुपर्ने बताए।




















