काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी तीनदेखि पाँच वर्षभित्र आवश्यक स्रोत जुटाउन भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग छलफल भइरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले पुनर्निर्माणका लागि आवश्यक रकमको करिब ८० प्रतिशत यी चार स्रोतबाट जुटाउने सरकारको लक्ष्य रहेको बताए। बाँकी रकम अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाइने उनको भनाइ छ।
भारतसँग विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको र प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा केही सम्झौता हुनसक्ने उनले जानकारी दिए। चीनसँग सडक, रेलमार्ग, सुरुङमार्ग तथा वैकल्पिक व्यापारिक नाका विकासबारे संवाद भइरहेको पनि उनले बताए।
विश्व बैंकबाट विभिन्न वित्तीय संयन्त्रमातहत करिब एक अर्ब डलरसम्मको प्रतिबद्धता प्राप्त हुने आधार तयार भएको र एडीबीबाट पनि समान प्रकृतिको सहयोग अपेक्षा गरिएको वाग्लेले बताए।
यसैबीच, जलवायु परिवर्तनबाट भएको क्षति सम्बोधनका लागि लस एन्ड ड्यामेज फन्डले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय गरेको उनले जानकारी दिए। कोष स्थापना भएपछि नेपालले पहिलोपटक यस्तो अनुदान प्राप्त गर्न लागेको उनको भनाइ छ।
नेपाल दक्षिण एसियामै पहिलोपटक विनाशकारी विपद् बीमा प्रणालीमा सहभागी भएको उल्लेख गर्दै उनले यसले भविष्यमा विपद् पर्दा तत्काल आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने बताए।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाटै रकम पुनः विनियोजन गरी पुनर्निर्माण अघि बढाइने र आगामी आर्थिक वर्षको बजेटमा थप स्रोत समावेश गरिने उनले जानकारी दिए। पुनर्निर्माण तथा पुनर्स्थापनाका काम तीनदेखि पाँच वर्षको योजनाअनुसार अघि बढाइने वाग्लेले बताए।




















