काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारी सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका हुन्।
उनले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र देखिएका अन्तरसंघर्ष र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्याएको स्मरण गराएका छन्।
भट्टराईले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच देखिएको शक्ति संघर्ष, २०४७ पछि कांग्रेसमा ७४ र ३६ सांसद समूहबीचको विवाद तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको द्वन्द्वलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तरसंघर्षले पनि मुलुकलाई नोक्सान पुर्याएको उनको भनाइ छ।
‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्’ भन्ने भनाइ उद्धृत गर्दै भट्टराईले जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्।
उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।




















