काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल सकिन १७ महिना बाँकी छँदै हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
उनले अनेक तानाबाना र षड्यन्त्र बुनेर प्रहरी प्रमुख हटाउनु सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका छन्।
आङ्देम्बेले मुलुकमा बाढीपीडितको समस्या, विस्थापित सुकुम्वासीको अवस्था र बढ्दो महँगीजस्ता विषयलाई बेवास्ता गर्दै सरकार आईजीपी परिवर्तनमा केन्द्रित भएको आरोप लगाए। अहिलेको राष्ट्रिय आवश्यकता प्रहरी प्रमुख परिवर्तन गर्नु हो भन्दै उनले हटाउनुको आधार र प्रमाण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
उनले सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा समेत विरोधाभास देखिएको भन्दै प्रश्न उठाएका छन्। सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर रास्वपाका प्रवक्ताले पार्टीको निर्देशन नभएको भनेको उल्लेख गर्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।
‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ उनले प्रश्न गरेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको निवासमा पुगेको भनिएको घटनाबारे पनि उनले प्रश्न उठाएका छन्। अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ किन पुर्याइयो र त्यसमा रहेको के विवरण मेटाउन खोजिएको हो भन्ने उनको जिज्ञासा छ।
जनताले वर्तमान सरकारलाई सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र नागरिकको जीवनस्तर सुधार गर्न मत दिएको उल्लेख गर्दै आङ्देम्बेले सत्ता र शक्तिको दुरुपयोग तथा प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने अधिकार कसैलाई नभएको बताएका छन्।
‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले भनेका छन्।




















