काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीलाई फोनमार्फत ब्युरोमा उपस्थित हुन भनिएको हो।
शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र साइबर ब्युरोमा उपस्थित हुने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको भय र भ्रमबाट विचलित नहुने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’
सामाजिक सञ्जालमा उनले पछिल्लो समय सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन्।
ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो। शिवाकोटीले सामाजिक सञ्जालमा खड्काको भनाइप्रति प्रश्न उठाउँदै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएका थिए।
यस्तै, प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानको अडियो रेकर्ड सार्वजनिक भएको विषयमा पनि शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।




















