काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच फरक–फरक धारणा सार्वजनिक भएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपाको निर्देशनपछि आईजीपीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्। तर, रास्वपाका प्रवक्ता जगदीश खरेलले भने यस विषयमा पार्टीलाई कुनै जानकारी नभएको र पार्टीले यस्तो निर्देशन नदिएको दाबी गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने र उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले संवेदनशील विषयमा सरकारले निर्णय लिनुपर्ने भन्दै पार्टीबाट पनि निर्देशन आएको बताएका थिए।
‘संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले जिम्मेवारी फेरबदल गरेको हो,’ उनले भने।
उनले कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र हेरफेर गरिएको दाबी गरेका थिए।
तर, रास्वपाका प्रवक्ता खरेलले आईजीपी फेरबदल गर्ने विषयमा पार्टीले कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। उनले कसलाई हटाउने वा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा पार्टीले सरकारलाई निर्देशन नदिने बताए।
खरेलका अनुसार रास्वपाको सचिवालय बैठकले भने सञ्चारमाध्यमका कार्यालयबाटै पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै त्यसमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो।
‘कसलाई हटाउने, कसलाई राख्ने भन्ने सन्दर्भमा पार्टीले भित्र गएर हस्तक्षेप गर्ने कुरा पनि हुँदैन र पार्टीले भनेको अवस्था पनि होइन,’ खरेलले भने।
उनले पत्रकार पक्राउको घटनामा कसले पक्राउ गर्यो र कसको आदेशमा पक्राउ गरियो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने पार्टीको धारणा रहेको बताए।
आईजीपी कार्कीको जिम्मेवारी फेरबदलबारे पार्टीलाई जानकारी नगराइएको उल्लेख गर्दै खरेलले यसको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताए।
‘यो यो घटनामा दोषी देखिएर यसरी कारबाही गरिएको हो भनेर सरकारले भन्नुपर्छ। यसमा उहाँलाई हटाइएकोबारे पार्टीको इन्ट्रेस्ट पनि होइन र पार्टीले यसो गर भनेर भनेको पनि होइन,’ उनले भने।
खरेलले व्यक्ति हटाउने वा नियुक्त गर्ने विषय सरकारको अधिकारक्षेत्रभित्र पर्ने भन्दै यसमा पार्टीले सूक्ष्म हस्तक्षेप नगर्ने बताए।
सरकारका प्रवक्ता पोखरेलले पार्टीको निर्देशनमा निर्णय भएको बताउनु र रास्वपाका प्रवक्ता खरेलले पार्टीलाई यसबारे जानकारी नै नभएको दाबी गर्नुलाई लिएर आईजीपी फेरबदलको निर्णय थप चासोको विषय बनेको छ।




















