काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन्।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन्।
आईजीपी कार्कीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ।
‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो,’ शाहीले भनेका छन्।
आईजीपीबाट हटाइएका कार्की दोषी भए कानुनी प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्ने र निर्दोष भए व्यक्तिगत स्वार्थका कारण पदबाट हटाउन नहुने शाहीको तर्क छ। उनले यस्तो कदमलाई राज्यसत्ताको दुरुपयोग भएको बताएका छन्।




















