काठमाडौं । बिचौलिया इनम सापकोटासँग जोडिएका अडियो सार्वजनिक भएको तथा पछिल्लो समय सरकार र प्रहरी प्रशासनसँग सम्बन्धित विभिन्न विवादित घटना बाहिरिएपछि विपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्। अन्य विपक्षी दलहरूले पनि अनौपचारिक रूपमा बैठक बोलाउन आग्रह गरेका छन्।
शाहीले नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकारहरू पक्राउ परेको घटना, राज्यशक्तिको दुरुपयोग भएको आरोप तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषयलाई गम्भीर रूपमा उठाएका छन्।
राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा गम्भीर छलफल र आवश्यक छानबिन गर्नुपर्ने उनको माग छ।
शाहीले समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराई सम्बन्धित घटनाबारे स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक बोलाउन माग गर्दै पत्र पठाएका छन्।
उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग सम्बन्धित भनिएको अडियो कसरी सार्वजनिक भयो, प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनका सामाजिक सञ्जालमा आएका अभिव्यक्तिका आधार के हुन् तथा पत्रकार पक्राउ र रिहाइका घटनाबारे सरकारको जवाफ माग्नुपर्ने बताएका छन्।
दुलालले सरकारका निकायहरू गैरकानुनी रूपमा सञ्चालन भइरहेका हुन् कि भन्ने प्रश्न उठाउँदै गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन्।
उनले समिति सभापति ढकालसँग यस विषयमा कुराकानी भइसकेको र बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको जानकारी दिएका छन्।




















