काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्।
काठमाडौं आइपुगेलगत्तै मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको छ।
त्यसैगरी, आपसी सम्बन्धका विविध पक्ष र द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आइपुगेका हुन्। उनको भ्रमणका क्रममा नेपालका अन्य उच्चपदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।




















