काठमाडौं । जय नेपाल पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार निर्मूल गर्ने दिशामा विश्वसनीय आधार निर्माण गर्न नसकेको आरोप लगाएको छ।
पार्टीका सभापति डा. धवलशम्सेर राणाले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, सुरक्षाकर्मी तथा अन्य नागरिकलाई न्याय दिलाउनसमेत सरकार असफल भएको बताएका छन्।
‘बालेन्द्र शाह सरकारले सुशासन र समृद्धि संस्थागत तथा भ्रष्टाचार निर्मूल गरोस् भन्ने हाम्रो शुभेच्छा छ। तथापि सरकारले यसतर्फ विश्वसनीय आधार निर्माण गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीले जेनजी आन्दोलनका क्रममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवनलगायत सार्वजनिक संरचनामा आगजनी गर्नेहरूलाई सरकारले कानुनी दायरामा ल्याउन नसकेको भन्दै असन्तुष्टि जनाएको छ।
त्यस्तै, भोटेकोशी–त्रिशूली बाढीपछि प्राप्त राहत सामग्री तथा रकमको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। प्रधानमन्त्री विपद् राहत कोषमा संकलित रकम कहाँ र कसरी खर्च भयो भन्ने अद्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने पार्टीको माग छ। बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्स्थापना तथा पुनर्निर्माणको प्रगतिबारे पनि जानकारी गराउन उसले सरकारको ध्यानाकर्षण गराएको छ।
सरकारप्रति जनताको ठूलो अपेक्षा रहे पनि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर–तेब्बरसम्म बढेको र सहज उपलब्धता नहुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको पार्टीको भनाइ छ।
त्यस्तै, सञ्चारकर्मीलगायत नागरिकलाई पक्राउ पुर्जीबिना धरपकड गर्ने क्रम बढेको भन्दै पार्टीले त्यसलाई कानुनी राज्यको उपहास र लोकतान्त्रिक मूल्यको उल्लंघन भनेको छ।
जय नेपाल पार्टीले संस्थागत सुधारका लागि संविधान संशोधन गर्नुपर्ने मागसमेत अघि सारेको छ। जेनजी आन्दोलनका क्रममा करिब दुई तिहाइको सरकार ढलेर मुलुकको अवस्था सेनाको मातहतमा पुग्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
गणतान्त्रिक शासन प्रणाली र धर्मनिरपेक्षताका कमजोरी तथा असफलताबारे पुनर्विचार गर्नुपर्ने धारणा राख्दै पार्टीले संविधान संशोधनका लागि सरकारले सुझाव संकलन गरे पनि त्यसको स्पष्ट खाका र कार्ययोजना सार्वजनिक नगरेको जनाएको छ।
पार्टीले संविधान संशोधन र संस्थागत सुधारका लक्ष्यसहित विभिन्न संकल्प सार्वजनिक गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई आफ्ना प्रस्तावमा समर्थन र सुझाव दिन आह्वान गरेको छ।
सरकारले आफ्ना माग समयमै सम्बोधन नगरे चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत जय नेपाल पार्टीले दिएको छ।
सस्ता छन् जनेपाका ८ बुँदै संकल्प
१. सुढृद राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन
२. आकासिँदो बजार भाउ र महँगी नियन्त्रण
३. संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध, किरातसहितको सनातन हिन्दु अधिराज्य
४. धर्मान्तरण, गौहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध
५. युवा र महिलामैत्री आर्थिक विकास, प्रविधिमा आधारित समुन्नत नेपाल
६. सहकारी तथा लघुवित्तपिडितलाई न्याय
७. अधिकारसम्पन्न स्थानीय निकाय, प्रदेश संरचनामा जनमत संग्रह
८. एक पटकको नेपाली, सधैँका लागि नेपाली, मताधिकारको सुनिश्चितता




















