काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीका लागि उनी काठमाडौं आएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिश्रीले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने कार्यक्रम छ। उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गर्ने तयारी छ।
त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाहसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। कार्यव्यस्तताका कारण आज भेट हुन नसके भोलि भेटवार्ता हुन सक्ने बताइएको छ।
मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेटघाट गर्ने तयारी छ।
काठमाडौंमा उच्चस्तरीय भेटवार्ता सकेर उनी बिहीबार कात्तिक १९ गते अपराह्न नयाँदिल्ली फर्किने कार्यक्रम छ।
मंसिर दोस्रो साता बालेनको भारत भ्रमणको तयारी
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल र भारतका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो साताका लागि तय गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री बालेनसँग भेटघाटको समय नमिलेपछि निर्धारित भ्रमणसमेत स्थगित भएको समाचार सार्वजनिक भएको थियो। त्यसैले यसपटक मिश्रीको भ्रमण र उच्चस्तरीय भेटवार्तालाई चासोका साथ हेरिएको छ।
यसैक्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कात्तिक ११ गते नियमित पत्रकार भेटघाटका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइसकेको जानकारी दिएका थिए।
परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा छन्। स्रोतका अनुसार भारतीय विदेश सचिव मिश्रीको भ्रमणपछि भ्रमणको मिति सार्वजनिक हुन सक्नेछ।




















