काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा छुट दर्ता गरी अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ।
मुद्दा दायर गरिएकाहरूको सूचीमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ तथा त्रिशूली नदीमा भएको सवारी दुर्घटनामा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरे पनि रहेका छन्।
त्यस्तै, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
यसैगरी, शाखा अधिकृत बलराम निरौलासहित भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ।
सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियारले अनुसन्धान पूरा गरी ९७ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा अघि बढाएको हो। अब यस प्रकरणमा विशेष अदालतबाट न्यायिक प्रक्रिया अघि बढ्नेछ।



















