काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले छिमेकी मुलुकहरूसँगको सम्बन्धमा विश्वास कायम राख्न नसके भूराजनीतिक दबाब थेग्न नसक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै ज्ञवालीले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् ।
उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध हुन नहुने भन्दै असंलग्नता र पञ्चशीलको सिद्धान्तलाई परराष्ट्र नीतिको आधार बनाउनुपर्नेमा जोड दिए ।
गौतम बुद्धको मध्यम मार्गको दर्शनले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको उल्लेख गर्दै उनले कुनै पनि अतिवादी धार वा रणनीतिक कित्तामा उभिन नहुने बताए ।
छिमेकी मुलुकहरूसँग अविश्वास बढ्ने गतिविधि र नीति अपनाउँदा शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो ।
‘नेपालप्रति ढुक्क हुन सकिने अवस्था छैन भन्ने शक्ति राष्ट्रहरूलाई लाग्यो भने उनीहरू आफैं अगाडि आएर खेल्न थाल्छन् । त्यो कुरा नेपालले थेग्न सक्दैन,’ ज्ञवालीले भने, ‘कुनै पनि छिमेकीप्रति अविश्वास बढ्ने स्थिति सिर्जना भयो भने नेपालले थेग्न नसक्ने भूराजनीतिक दबाब आउन सक्छ ।’
उनले चीन र भारत दुवैसँगको सम्बन्धलाई नेपालले अवसरका रूपमा लिनुपर्ने बताए । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र, ठूलो उपभोक्ता बजार तथा उत्पादन र आर्थिक वृद्धिको केन्द्र भएकाले उत्तरी छिमेकीसँगको सम्बन्धलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, दक्षिणी छिमेकी भारत पनि नेपालको लागि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए । दुई ठूला मुलुकको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति कमजोरी नभई अवसर भएको उल्लेख गर्दै ज्ञवालीले दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
नेपालको वर्तमान परराष्ट्र नीति र पछिल्ला गतिविधिले छिमेकीको विश्वास कति जित्न सकेका छन् भन्ने विषयमा बौद्धिक समुदायले गम्भीर समीक्षा गर्नुपर्ने पनि उनले बताए ।
यसैगरी, चीनको कम्युनिस्ट पार्टी संगठनात्मक र नीतिगत रूपमा व्यवस्थित रहेको उल्लेख गर्दै ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिक्नुपर्ने धारणा राखे।




















