काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने भाँडाकुटीजस्तो बनाइएको टिप्पणी गरेका छन्।
सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिहरू अझ बढी संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको आरोप लगाए।
कार्यकारी पदमा रहेका व्यक्तिहरूका सामाजिक सञ्जालमा व्यक्त विचार र गतिविधिले राज्य सञ्चालनप्रतिको गम्भीरता कमजोर बनाएको उनको भनाइ थियो। सरकारको यस्तो कार्यशैलीले लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथि नै संकट उत्पन्न गरेको उनले बताए।
पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको आरोपसमेत लगाए। लोकतन्त्रको आधार नै संगठित हुने र अभिव्यक्ति स्वतन्त्रता भए पनि सरकारले ती अधिकारमाथि अंकुश लगाउन खोजेको उनको भनाइ थियो।
उनले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संघसंस्थालाई गतिविधि नगर्न निर्देशन दिने काम भइरहेको भन्दै आपत्ति जनाए।
गृह मन्त्रालयको आदेश भन्दै व्यावसायिक संगठनहरूलाई समेत गतिविधि गर्न रोक लगाइएको र निजी तथा संस्थागत विद्यालयहरूको संगठन प्याब्सनलाई पनि गतिविधि नगर्न पत्राचार गरिएको उनले बताए।
त्यस्तै, सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको पोखरेलको आरोप थियो।
सरकार आफैँ बाह्य शक्तिहरूको प्रभावमा परेको हो कि भन्ने आशंका देशभित्र मात्र नभई छिमेकी मुलुकहरूमा समेत उत्पन्न भएको उनले टिप्पणी गरे।
‘राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन,’ पोखरेलले भने, ‘जसले हाम्रो लोकतन्त्रलाई पनि कमजोर बनाइराखेको छ। संविधान र संवैधानिक अंगहरू एक प्रकारले निष्क्रिय बनेका छन्।’
भूराजनीतिक द्वन्द्वका सन्दर्भमा सरकार र त्यसको नेतृत्व परिचालित भइरहेको शैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको पनि उनले बताए।




















