काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बिचौलिया प्रकरणमा सरकार, अदालत र राज्यका विभिन्न निकायको संलग्नताबारे निष्पक्ष तथा गहिरो छानबिन हुनुपर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त प्रकरणको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका हुन्।
बिचौलिया प्रकरणमा सरकार, अदालत तथा अन्य पक्षसँग जोडिएका समाचार सार्वजनिक भएकाले त्यसको गहिराइसम्म पुगेर छानबिन गर्न आवश्यक रहेको पौडेलले बताए।
अदालत, सरकार र समग्र राज्य संरचनालाई बिचौलियामुक्त बनाउनुपर्ने उल्लेख गर्दै उनले सरकार आफैँ विवादमा जोडिएकाले उसबाट हुने छानबिन निष्पक्ष हुनेमा आशंका व्यक्त गरे।
‘हामीले चाहेको यसको निष्पक्ष छानबिन हो। दूधको दूध, पानीको पानी छुट्याइनुपर्छ,’ पौडेलले भने।
उनले प्रकरणको निष्पक्ष छानबिनका लागि संसद्को बैठक तत्काल बोलाउन र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारसँग माग गरे।
यसैगरी, महामन्त्री पौडेलले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति आपत्ति जनाएका छन्। दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप सुरक्षित हुने अपेक्षा गरिए पनि पत्रकार र सञ्चारमाध्यममाथि नियन्त्रण तथा दबाब सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ।
उनले वर्तमान अवस्थामा प्रेसमाथि भइरहेको हस्तक्षेप विगतको शाही शासनकालको भन्दा पनि बढी भएको टिप्पणी गरे। सत्तारुढ दलका नेताहरूले समेत पत्रकारमाथिको हस्तक्षेपको विरोध गरिरहेको उल्लेख गर्दै उनले सरकारका गतिविधिप्रति असहमति भए निष्पक्ष छानबिनको मागमा विपक्षीसँगै उभिनुपर्ने बताए।
त्यस्तै, विवादित न्यायाधीशहरूमाथि महाभियोग लगाउने विषयमा पनि अन्य विपक्षी दलहरूसँग परामर्श गरेर अघि बढ्ने कांग्रेसको तयारी रहेको पौडेलले जानकारी दिए।




















