काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संविधान र कानुनको बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले सत्ता सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै उनले कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको बताएका हुन्।
बैठकमा सहभागी स्रोतका अनुसार पौडेलले अन्य प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्न पनि माग गर्नुपर्ने धारणा राखेका छन्।
अदालतमा देखिएको सेटिङ प्रकरणमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत मुछिएको विषयको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको माग छ।
सरकारबाटै निष्पक्ष छानबिन हुनेमा विश्वास गर्न नसकिने बताउँदै पौडेलले प्रतिपक्षी दल, संसद्, जनता र प्रेसमाथि ज्यादती बढेको तथा राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइएको आरोप लगाएका छन्।
कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक अवस्था, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास र संसदीय दल तथा पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन्।
महामन्त्री पौडेलले आफ्नो धारणा राखेर बैठकस्थलबाट बाहिरिएका छन्।




















