काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको बताए।
मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको उनको भनाइ छ।
उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए। यस्तै,विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए। यसमा जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो।




















