विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ११ः३० बजे जमिनमा गाडिएको पुरानो सकेट बमजस्तो देखिने वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।
मोरङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विस्फोटको छर्रा र चोट लागेर खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ । त्यस्तै, अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ ।
घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पुर्याएको थियो । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार जमिनमा पहिलेदेखि नै गाडिएको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिएका छन् ।




















