काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका कारण ठूलो संकटतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलतालाई नेपाली इतिहासमा नयाँ क्रान्तिको कडीका रूपमा व्याख्या गरेका भट्टराईले केही महिनापछि सामाजिक सञ्जालमार्फत देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्तापक्ष र प्रतिपक्षी दलभित्र चर्किंदो अन्तरसंघर्ष तथा राज्यका प्रमुख अंग न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अस्तव्यस्तताले संकटको संकेत गरिरहेको बताएका छन् ।
त्यस्तै, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, बढ्दो प्राकृतिक विपद्, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशाले मुलुकलाई थप जटिलतातर्फ धकेलिरहेको उनको विश्लेषण छ ।
भट्टराईले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने चेतावनीसमेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैसक्दैन ! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं !’
सबैलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गर्दै उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले नकारात्मक काम नगर्न सुझाव दिएका छन् ।
‘सक्छौं, सकारात्मक योगदान गरौं ! सक्दैनौं, नकारात्मक काम नगरौं !’ भट्टराईले लेखेका छन् ।
रास्वपाको चुनावी सफलतालाई नयाँ राजनीतिक परिवर्तनका रूपमा व्याख्या गर्दै आएका भट्टराईको पछिल्लो टिप्पणीलाई बदलिँदो राजनीतिक परिस्थितिप्रति व्यक्त चिन्ताका रूपमा हेरिएको छ ।




















